12141557_967172313326700_8981559442122610294_nम्याग्दी ३ कात्तिक । बेनीमा मंगलबार म्याग्दी जिल्लाको आर्थिक सम्भावनाको विषयमा सरोकारवालाहरुबीच छलफल भएको छ ।
प्रवासी म्याग्देली नेपाली संघ (मोना)को प्रथम विश्व सम्मेलनको अवसरमा म्याग्दी जिल्लामा लगानी भित्र्याउन सम्भावनाका क्षेत्रको पहिचान गर्ने उद्देश्यले छलफलको आयोजना गरिएको हो ।
उक्त अवसरमा म्याग्दीको जलविद्युत, पर्यटन, कृषि तथा कल्याणकारी योजनाहरुको सम्भावना तथा चुनौतीका विषयमा प्रवासी म्याग्देली र स्थानीय सरोकारवालाहरु बीच छलफल भएको थियो ।
मोना सम्मेलनमा सहभागि हुन हङकङ, जापान, बेल्जीयम, अमेरीका, न्युजील्याड, कतार, अस्टे«लीया लगायत १४ देशबाट आएका प्रवासी म्याग्देली, सांसदहरु, विज्ञ, सरकारी कार्यालयका प्रतिनिधि र उद्योगी ब्यवसायीहरु छलफलमा सहभागि भएका थिए ।
म्याग्दीमा प्रचुर सम्भावना रहेको जलविद्युत, पर्यटन, कृषिको विकासका लागि पुर्वाधार निर्माण, लगानीमा अन्यौलताको अवस्था अन्त्य गर्नुपर्ने तथा प्रवासबाट सिप, प्रबिधि, पुँजी भित्र्याउनुपर्नेमा जोड दिइएको थियो ।
छलफलमा व्यवस्थापिकाका सांसदहरु नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानिया पनि सहभागि हुनुभएको थियो । कार्यक्रममा म्याग्दीमा पर्यटनको सम्भावना र अवसर विषयक कार्यपत्र प्रस्तुत गर्दै पर्यटनविद् डाक्टर प्रेम शर्माले पुर्वाधार निर्माण, प्रचारप्रसार र ब्यवस्थापनमा ध्यान दिन सुझाव दिनुभयो ।
यसैगरी जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले म्याग्दीको सामाजिक, आर्थिक अवस्था र म्याग्दी चौतारी काठमाडौका कोषाध्यक्ष दिनेशनारायण श्रेष्ठले सम्बृद्ध म्याग्दी अभियानको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि पत्रकार घनश्याम खड्का, तारानाथ शर्मा र गाविस सचिव हकहित संरक्षण मञ्चका अध्यक्ष दामोदर रिजालले टिप्पणी गर्नुभएको थियो । यसैगरी धौलागिरी कालीका हाईड्रो लिमिटेडका अध्यक्ष प्रमोद श्रेष्ठले जलविद्युतमा लगानीको सम्भावनाका बारेमा जानकारी गराउनुभएको थियो ।
छलफलपछि मोना अन्तराष्ट्रिय समन्वय परिषद्को बिधान संसोधन, प्रतिवेदन प्रस्तुत र नयाँ कार्यसमिति चयनका लागि बन्दसत्र तथा निर्वाचन प्रक्रिया सुरु भएको छ । सोमबारदेखि सुरु भएको सम्मेलन मार्फत मोनाको नयाँ कार्यसमिति चयन र घोषणापत्र जारी गर्ने जनाइएको छ ।

Leave a Reply