प्रा.सुवेदीको प्रस्तावलाई अन्तराष्ट्रिय समर्थन

काठमाडौ,६ पुस/क्याम्बोडियाको संसदीय निर्वाचन नजिकिदै गर्दा क्याम्बोडियाका लागि राष्ट्रसंघीय मानव अधिकार दूत प्रा.सुर्यप्रसाद सुवेदीलाई त्यहाँको सरकारसँग सम्वादका लागि अन्तर्राष्ट्रिय समर्थन जुटेको छ । अमेरिकी राष्ट्रपतिको पहिलो क्याम्बोडिया भ्रमणका क्रममा राष्ट्रपति बाराक ओबामाले त्यहाँका प्रधानमन्त्री हुन सेनलाई भेटी सुवेदीका न्यायिक, संसदीय, निष्पक्ष र स्वतन्त्र निर्वाचनसम्बन्धी सिफारिसहरु कार्यान्वयन गर्न आग्रह गरेका छन् । क्याम्बोडियाले यस्ता सुधारहरु नगरी यो राष्ट्रको अमेरिकासगको सम्बन्ध सुधार हुन गाह्रो हुने ओबामाले बताएका थिए । चार वर्षको दौरानमा आफूले सुधारका विभिन्न ४ प्रस्तावहरु पेस गरेको प्रा.सुवेदीले जानकारी दिए जसका कारण हु सेन सरकारलाई अप्ठेरो परेको छ । सन १९८० देखि सत्तामा रहेका हु सेनका अघिल्ला राष्ट्र संघीय दूतहरुसग समेत सम्बन्ध राम्रो थिएन ।

सुवेदीका प्रस्तावहरुलाई युरोपेली संसद, १६२ देशका संसदहरु सदस्य रहेको अन्तर्देशीय संघ तथा अष्ट्रेलिया र फिलिपिन्सका सिनेटरहरुले समर्थन गरिसकेका छन् । हालै क्याम्बोडियाको भ्रमणमा प्रा.सुवेदीले संवैधानिक अंगहरुको लोकतान्त्रिक सुधार र सवै पक्षविच राष्ट्रिय मिलापको वातावरण सिर्जना गरी स्वतन्त्र र निस्पक्ष चुनाव गराउन आग्रह गरेका थिए । क्याम्बोडियाका प्रमुख विपक्षी दलका नेता पेरिसमा निर्वासनमा छन् । उनी स्वदेश फर्के कारावास जानुपर्ने अवस्था छ । त्यस्तै क्याम्बोडियाको प्रमुख स्वतन्त्र रेडियो स्टेशनका संचालक माम सोनान्डोलाई हालैमात्र २० वर्षको जेल सजाय दिइएको थियो । सुवेदीले उक्त भ्रमणका क्रममा हनोम पेन्हस्थित उनलाई राखिएको कारागार पुगी भेटघाट गरेका थिए । क्याम्बोडियामा वाक तथा प्रकासन लगायत धेरै मानवाधिकार हनन भएको कुरा सुवेदीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । जसका कारण सरकारसँग उनको द्वन्द्व बढदै गएको छ ।

Leave a Reply